सुनचाँदीमा एक लाखभन्दा माथिको नगद कारोवारमा विवरण अनिवार्य

वीरगंज, २ वैशाख । सुनचाँदीलगायत बहुमूल्य धातुको कारोवारमा सरकारले कडाइ गरेको छ। आन्तरिक राजस्व विभाग ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली कार्यान्वयनका लागि व्यवसायीहरूलाई नयाँ निर्देशन जारी गरेको हो।

निर्देशनअनुसार एक दिनमा एक पटक वा पटक–पटक गरी एक लाख रुपियाँँ वा सो बराबरको विदेशी मुद्राभन्दा बढीको नगद कारोवार गर्ने ग्राहकको पहिचान खुलाउने र विवरण अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ।

विभागले विशेषगरी आकस्मिक (नियमित नभएका) कारोवार गर्ने ग्राहकलाई लक्षित गर्दै यस्तो व्यवस्था ल्याएको जनाएको छ। नगदमार्पmत सुनचाँदी खरिद गर्ने ग्राहकहरूको विवरण अनिवार्य रूपमा सङ्कलन गर्नुपर्ने उल्लेख गरिएको छ।

विभागका अनुसार चेक, क्यूआर, मोबाइल बैंकिङ वा अन्य बैंकिङ माध्यमबाट भुक्तानी गर्ने ग्राहकहरूको विवरण बैंकिङ प्रणालीमै सुरक्षित हुने भएकाले नयाँ निर्देशन मुख्यतः नगद कारोवारमा केन्द्रित गरिएको हो।

यस व्यवस्थाले बहुमूल्य धातुको कारोवारलाई पारदर्शी बनाउने र सम्पत्ति शुद्धीकरण तथा अवैध आर्थिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः