नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सन् २०२६ का लागि TIME Magazine द्वारा प्रकाशित ‘The 100 Most Influential People’ सूचीमा समावेश गरिएको छ। यससँगै अन्तर्राष्ट्रिय स्तरमा नेपाली नेतृत्वको प्रभाव औपचारिक रूपमा स्थापित भएको छ।
टाइमले सार्वजनिक गर्न थालेको TIME100 सूचीअन्तर्गत बालेन शाहको छुट्टै प्रोफाइल समेत राखिएको छ। यसअघि सन् २०२३ मा काठमाडौं महानगरपालिकाका मेयर हुँदा उनी ‘TIME100 Next’ सूचीमा परेका थिए, तर यसपटक मुख्य सूचीमै समावेश हुनु उनको राजनीतिक उचाइको महत्वपूर्ण उपलब्धि मानिएको छ।
टाइमको विवरणअनुसार शाहको यात्रा असाधारण छ—हिप–हप संगीतमार्फत भ्रष्टाचार र असमानताविरुद्ध आवाज उठाउने कलाकारदेखि स्वतन्त्र उम्मेदवारका रूपमा २०२२ मा काठमाडौं मेयर जित्ने, त्यसपछि २०२६ को आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ऐतिहासिक जित दिलाउँदै देशकै सबैभन्दा कान्छा प्रधानमन्त्री बन्ने यात्रा उल्लेख गरिएको छ।
प्रधानमन्त्रीका रूपमा उनले दक्षिण एशियाली राजनीतिमा ‘युथक्वेक’ अर्थात् युवा लहरको प्रतीक बनेको टाइमले उल्लेख गरेको छ। मेयर हुँदा फोहोर व्यवस्थापन, सडक सुधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका सुधारहरूलाई पनि टाइमले विशेष रूपमा समेटेको छ।
उनको सीधा र कहिलेकाहीँ कडा शैलीको सार्वजनिक अभिव्यक्ति, विशेषगरी सामाजिक सञ्जालमार्फत, नेपाली युवामाझ निकै लोकप्रिय रहेको पनि उल्लेख गरिएको छ। टाइमले उनको जनकेन्द्रित नेतृत्वशैलीले सार्वजनिक असन्तुष्टिलाई राजनीतिक शक्तिमा रूपान्तरण गरेको र नयाँ पुस्तामा आशा जगाएको विश्लेषण गरेको छ।
यस उपलब्धिसँगै बालेन शाह सन् २०२६ का विश्वका प्रभावशाली राजनीतिज्ञ, व्यवसायी, कलाकार, वैज्ञानिक र अभियन्ताहरूको सूचीमा उभिएका छन्। नेपालमा सामाजिक सञ्जालमा यो खबर व्यापक रूपमा स्वागत गरिएको छ, जसलाई धेरैले देशका लागि गौरवको क्षणका रूपमा व्याख्या गरेका छन्।
टाइम म्यागजिनले २०२६ को TIME100 सूचीलाई विभिन्न विधामा क्रमशः सार्वजनिक गरिरहेको छ, जसमा Artists, Leaders, Innovators, Titans लगायतका श्रेणी समावेश छन्।







