वीरगंज, ३ बैशाख –
पर्साको परवानीपुरमा आयोजना हुने पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। शक्ति युवा क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै वैशाख ५ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सबै तयारी सकिएको जानकारी दिएको हो।
प्रतियोगिता परवानीपुर खेल मैदानमा दैनिक दिउँसो ३ बजेदेखि सञ्चालन हुनेछ। प्रतियोगितामा भारतबाट एक र नेपालका सात गरी कुल आठ टोलीको सहभागिता रहने संयोजक संजय मण्डलले जानकारी दिए।
सहभागी टोलीमा आयोजक शक्ति युवा क्लब, वीरगंज युनाइटेड, वीरगंज युथ क्लब, रिगल हेटौडा एन्फा क्लब, नव जनजागृति युवा क्लब सिमरा, चिडियादह क्लब रौतहट, निजगढ फुटबल क्लब र यंग स्टार क्लब रहेका छन्।
करिब १७ लाख रुपैयाँ लागतमा सञ्चालन हुने प्रतियोगितामा विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। साथै उत्कृष्ट खेलाडी, डिफेन्डर, फरवार्ड तथा दैनिक ‘म्यान अफ द म्याच’लाई समेत नगद पुरस्कार प्रदान गरिने अध्यक्ष सुबोध श्रीवास्तवले बताए।
प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई ५ हजार १०० रुपैयाँ दिइनेछ। ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ नारासहित आयोजना हुन लागेको प्रतियोगिता सफल बनाउन आयोजकले स्थानीय तह, सुरक्षा निकाय, उद्योगी–व्यवसायी, खेलप्रेमी तथा सञ्चारकर्मीहरूलाई सहयोगको आग्रह गरेको छ।
यसअघि प्रतियोगिताको अन्तिम तयारीका क्रममा आयोजकले स्थानीय सरोकारवाला, जनप्रतिनिधि र खेलकर्मीहरूसँग अन्तरक्रिया समेत गरेको थियो।
अन्तरक्रियामा सहभागीहरूले खेलकुदलाई राजनीतिबाट टाढा राख्दै निष्पक्ष र मर्यादित रूपमा प्रतियोगिता सञ्चालन गर्न सुझाव दिएका थिए।








