वीरगंज, ४ वैशाख –
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाका विषयगत तथा संयुक्त गरी १२ वटा समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सभामुख डोलप्रसाद अर्यालले आज दिउँसो सिंहदरबारमा उहाँहरूलाई शपथ गराउनुभएको हो।
राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, कानून न्याय तथा मानव अधिकार समितिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी सर्वसम्मत निर्वाचित भएका छन्।
त्यसैगरी संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य तथा श्रम समितिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकी चयन भएका छन्।
सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका भरत खड्का निर्वाचित भएका छन् भने राज्यका निर्देशक सिद्धान्त तथा अनुगमन समितिमा गणेश कार्की र शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजस्वी शेरचन चयन भएका छन्।








