वीरगंज, ५ चैत्र –
वीरगंजको मुख्य सडक (मेनरोड) विस्तारको काम आज (शनिबार) साँझदेखि सुरु हुने भएको छ।
सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत गण्डक चोकदेखि पावरहाउस, मुर्ली, घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु होटल चोक, वीर्ता, छपकैया हुँदै भन्सार र मितेरी पुलसम्म २५/२५ मिटर सडक विस्तार गरिनेछ। सडकको मध्यभागबाट दायाँ–बायाँ पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने काम सुरु गरिने बताइएको छ।
यसका लागि कार्यालयले डोजर, जेसीबी र एक्साभेटरसहित ९ वटा उपकरण वीरगञ्ज ल्याइसकेको जनाएको छ। महानगरपालिका र सुरक्षा निकायको समन्वयमा पाँच स्थानबाट एकैसाथ डोजर परिचालन गरी काम सुरु गरिने सडक डिभिजनले जनाएको छ।
सर्वोच्च अदालतले २०८१ फागुन २८ मा मेनरोड विस्तारविरुद्ध परेको रिट खारेज गर्दै सरकारको पक्षमा फैसला गरेपछि लामो समयदेखि रोकिएको विस्तार कार्य अघि बढ्ने बाटो खुलेको हो।
२०६९ सालमा सडक विभागले जारी गरेको सूचनापछि करिब १ हजार २ सय घरधनीले मुआब्जा, वैकल्पिक सडक र निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। तर अदालतको पछिल्लो निर्णयसँगै विस्तार कार्य अघि बढाइएको हो।








