वीरगंज, ५ वैशाख ।
गण्डक–मितेरी पुल सडकखण्डमा पर्ने सडक सीमाभित्रका अतिक्रमण हटाउन जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरेपछि वीरगंज हेल्थ केयर हस्पिटलले आफ्नो संरचना भत्काउन शुरू गरेको छ।
राष्ट्रिय राजमार्गको मापदण्ड कायम गर्ने सरकारी निर्णयको सम्मान गर्दै हस्पिटलले सडकको केन्द्रविन्दुबाट २५ मिटरभित्र परेका आफ्ना भौतिक संरचनाहरू हटाउन थालेको हो।
सडक डिभिजन कार्यालय हेटौंडा र वीरगंज महानगरपालिकाको पत्रानुसार जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै नेपाल–भारत मितेरी पुलदेखि गण्डक नहर चोकसम्मको सडक सीमा खाली गर्न निर्देशन दिएको थियो। प्रशासनले उक्त क्षेत्रभित्र पर्ने संरचना, पसल तथा सरसामानहरू वैशाख ६ गते बिहान ४ः३० बजे अगावै खाली गरिसक्न सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ। सडक संरक्षण तथा विस्तारको यस कार्यमा सहयोग र सहजीकरण गर्न प्रशासनले राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी र आम नागरिकमा आहवानसमेत गरेको छ।
सरकारी सूचना र कानुनको पूर्ण पालना गर्दै अतिक्रमण हटाउने कार्यको थालनी गरिएको वीरगंज हेल्थ केयर हस्पिटलका अध्यक्ष डा. अबुल हैस अन्सारीले जानकारी दिएका छन। उनले राज्यको निर्णयको कदर गर्दै आफूहरूले संरचना भत्काउन शुरू गरेको स्पष्ट पारेका छन। यद्यपि, उनले सडक विस्तार वा अतिक्रमण हटाउने क्रममा घरवारविहीन वा रोजीरोटी गुम्न सक्ने गरिब तथा असहाय नागरिकहरूको उचित व्यवस्थापन र मर्कावारे पनि सरकारले संवेदनशील भएर सोच्न आग्रह गरेका छन।









