वीरगन्ज, ६ वैशाख २०८३– वीरगन्जको मुख्य सडक विस्तार अन्तर्गत २५/२५ मिटरभित्र परेको संरचना भत्काउने क्रममा एमाले नेता तथा वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीको घरमा डोजर चलेको छ। घर भत्किएपछि आक्रोशित बनेका सरावगीले सामाजिक सञ्जालमार्फत नेपाल सरकार र प्रणालीप्रति कडा टिप्पणी गरेका छन्।
सरावगीले फेसबुकमा लेखेका छन्, “Today our country system bahaved like terrorist” अर्थात् “आज हाम्रो देशको प्रणाली आतंकवादीजस्तो व्यवहार गरिरहेको छ।”
सर्वोच्च अदालतको २०८१/११/२८ को फैसला र सडक डिभिजन हेटौंडाको सूचनाका आधारमा त्रिभुवन राजपथ अन्तर्गत मितेरी पुलदेखि गण्डक चोकसम्मको सडक केन्द्रबाट दायाँ-बायाँ २५/२५ मिटर खाली गराउने अभियान आइतबार बिहानदेखि सुरु भएको हो। सोही क्रममा पूर्व मेयर सरावगीको घरको भाग पनि भत्काइएको छ।
सडक विस्तारको नेतृत्व गरिरहेका वर्तमान मेयर राजेशमान सिंह आफैं फिल्डमा खटिएका छन्। यसअघि सर्वोच्चको फैसला कार्यान्वयन गर्न महानगरले सुरक्षा निकायको सहयोग मागेको थियो।









