वीरगञ्ज, ६ चैत – वीरगञ्जमा एसइई दिएका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी आयोजना गरिएको ‘भविष्य मेला २०२६’ हिजो चैत ५ गते सिद्धार्थ दियालो होटेलमा भव्य रूपमा सम्पन्न भएको छ। एड्स बी मिडियाको आयोजनामा सञ्चालन भएको यस एक दिने शैक्षिक तथा करियर मेलामा हजारौँको संख्यामा विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रह्यो। विहान ९ बजेदेखि साँझसम्म चलेको मेलामा विद्यार्थीहरूलाई भविष्यको मार्गचित्र कोर्न मद्दत पुग्ने गरी विभिन्न शैक्षिक परामर्श र मार्गदर्शन प्रदान गरिएको थियो।
मेलाको मुख्य आकर्षणका रूपमा रहेको गोला प्रथा मार्फत सहभागी विद्यार्थीहरूलाई आकर्षक उपहारहरू वितरण गरियो, जसमा एक जना भाग्यशाली विजेताले मोबाइल फोन प्राप्त गरे भने अन्य विद्यार्थीहरूले एयरबड्स, पावर बैंक र स्मार्ट वाच जस्ता आधुनिक ग्याजेटहरू हात पारे। कार्यक्रमका निर्देशक नवीन कार्कीले भविष्य मेला केवल एउटा प्रदर्शनी मात्र नभएर विद्यार्थीहरूको शैक्षिक, व्यावसायिक र व्यक्तिगत भविष्य निर्माण गर्ने एउटा परिवर्तनकारी मञ्च भएको बताउनुभयो। उहाँका अनुसार यस्ता पुरस्कार र गतिविधिले विद्यार्थीहरूमा थप उत्साह पैदा गर्नुका साथै उनीहरूलाई सही करियर छनोट गर्न प्रेरित गरेको छ।
मेलामा विज्ञान, व्यवस्थापन, कानुन, पत्रकारिता, इन्जिनियरिङ र चिकित्सा लगायतका विभिन्न प्राविधिक विषयहरूमा विज्ञहरूद्वारा निःशुल्क करियर काउन्सिलिङ र छात्रवृत्तिका अवसरहरूको बारेमा जानकारी दिइएको थियो। सहभागी कलेजहरूले विद्यार्थीहरूको योग्यताका आधारमा पूर्णदेखि आंशिक छात्रवृत्ति समेत घोषणा गरेका थिए। यसका अतिरिक्त मेलामा सहभागीहरूका लागि निःशुल्क आँखा जाँच शिविर, बैंक तथा डिम्याट खाता खोल्ने सुविधा र स्टेसनरी किटहरू समेत उपलब्ध गराइएको थियो।
वीरगञ्ज महानगरपालिका, प्याब्सन, एनप्याब्सन, हिसान र वीरगञ्ज उद्योग वाणिज्य संघ जस्ता प्रतिष्ठित संस्थाहरूको सहकार्यमा सम्पन्न यस मेलाले पर्सा, बारा र रौतहट लगायतका क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक समानता र करियर तयारीमा महत्वपूर्ण योगदान पुर्याएको छ। गत वर्षको तुलनामा यस पटकको मेला अझ बढी व्यवस्थित र भव्य देखिएको थियो, जसले करिब ८ हजारभन्दा बढी विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष रूपमा जोड्न सफल भएको आयोजकले जनाएका छन्।









