नेपालको संविधान–२०७२ जारी भएको विरोधमा शुरू भएको दोस्रो मधेस आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका मन्सी पटेलको स्वास्थ्य अवस्थामा सुधार हुन सकेको छैन ।
११ वर्ष अघि भएको घटनामा घाइते भएका पटेलको निरन्तर उपचार भइरहेको छ । कहिले घरमा बसेर त कहिले अस्पतालमा । अहिलेसम्म उनी उपचारकै क्रममा छन् । पछिल्लो समयमा नारायणी अस्पतालले काठमाडौंको ट्रमा सेन्टर र वीर अस्पतालमा उपचार गराउन सुझाएपछि उनी आर्थिक समस्याले घरमा बस्न बाध्य भएका
छन् ।
ढाडदेखि तलको भाग नचल्ने समस्याले ग्रस्त पटेल २४सैं घण्टा ओछ्यान वा ह्वीलचेयरमा बस्न बाध्य भएकाले उनी ‘बेडसोल’को समस्याले ग्रसित भएका छन् । अहिले उनी थप स्वास्थ्य समस्याबाट पनि ग्रसित बन्दै गएको चिकित्सकहरू बताउँछन् । ज्वरो आउने, बान्ता हुने, खाना नपच्ने जस्ता समस्याले उनको स्वास्थ्य अवस्था दिन प्रतिदिन खराब हुँदैछ ।
२२ वर्षको उमेरमा गोली लागेर हिंड्डुल गर्न नसक्ने अवस्थामा पुगेका उनको अहिलेसम्म उचित उपचार हुन सकेको छैन भने दैनिक जीवनयापनको समस्या समाधान हुन सकेको छैन ।
चार भाइमा उनको चार कट्ठा जमीन र घडेरी मात्र छ । पत्नी, आमा उनको हेरचार, औषधिमूलोसहित दैनिक जीवनयापनका लागि जुधिरहेका छन् । नयाँ सरकारसँग उनका परिवारजनले उपचार र दैनिक जीवनयापनको लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३









