वीरगंज- हरि खेतान बहुमुखी क्याम्पसमा सुधार तथा व्यवस्थापनसम्बन्धी माग राख्दै विद्यार्थी तथा सरोकारवालाहरूले पुनः तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनको लापरवाही र व्यवस्थापकीय समस्याप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र विद्यार्थी युनियनको नाममा तथा शिक्षक–कर्मचारी पक्षले छुट्टाछुट्टै रूपमा तालाबन्दी गरेका छन् ।
विद्यार्थीहरूले क्याम्पसलाई सामुदायिक शैक्षिक संस्थाको मर्म अनुसार सञ्चालन गर्नुपर्ने भन्दै पारदर्शिता, जवाफदेहिता र विद्यार्थीमैत्री व्यवस्थापनको माग गरेका छन् । उनीहरूले क्याम्पस प्रशासनलाई तीन दिनभित्र माग पूरा गर्न अल्टिमेटम दिंदै समयसीमाभित्र माग सम्बोधन नभए उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रमुख तथा व्यवस्थापन समितिले लिनुपर्ने चेतावनी दिएका छन् ।
विद्यार्थीहरूको प्रमुख मागहरूमा सिट क्षमता अनुसार बससहितको यातायात सुविधा विस्तार, पुस्तकालयलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नयाँ पुस्तक थप, सबै कक्षामा प्रोजेक्टरमार्फत पठनपाठन तथा क्यान्टिनलाई स्वच्छ र व्यवस्थित बनाउनेलगायतका रहेका छन् ।
त्यसैगरी, क्याम्पसको वर्तमान विधान खारेज गरी सामुदायिक मर्म अनुसार नयाँ विधान लागू गर्नुपर्ने, एकै परिवारको प्रभाव रहेको व्यवस्थापन समिति पुनर्गठन गर्नुपर्ने, शौचालय तथा कक्षाकोठाको नियमित सरसफाइ, स्वच्छ खानेपानीको व्यवस्था र साइकल स्ट्यान्ड निर्माण गर्नुपर्ने माग पनि राखिएका छन् ।
छात्रवृत्ति वितरणलाई पारदर्शी बनाउनुपर्ने, अनधिकृतरूपमा उठाइएको अलुम्नाई शुल्क फिर्ता गर्नुपर्ने तथा त्रैमासिकरूपमा नियमित परीक्षा सञ्चालन गरी समयमैं नतीजा प्रकाशन गर्नुपर्ने मागसमेत विद्यार्थीहरूले अघि सारेका छन् ।
साथै, क्याम्पस परिसरमैं बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने माग पनि उनीहरूले गरेका छन् । मागहरू सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने विद्यार्थीहरूले चेतावनी दिएका छन् । यो क्याम्पस विगत एक वर्षदेखि समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । सञ्चालक समिति विवाद, क्याम्पस प्रमुखहरू हटाउने र राख्ने जस्ता आन्तरिक समस्याका कारण यो क्याम्पस बेलाबखत तनावग्रस्त पनि बन्ने गरेको छ । गत एक महीना अघि क्याम्पसमा तनाव भएको थियो । त्यतिखेर चैत ४ गतेदेखि तालाबन्दीको शिकार भएको क्याम्पसमा यता केही दिन अघि मात्र पुनः तालाबन्दी गरिएको हो । क्याम्पसमा विधिवत्रूपमा गठन नभए पनि स्वतन्त्र विद्यार्थी युनियनको नाममा पनि तालाबन्दी गरिएको छ ।
हालै निलम्बन फुकुवा भएर क्याम्पसको जिम्मेवारीमा फर्किएका क्याम्पस प्रमुख किशारीराय यादवले भोलि बिहीवारदेखी सबै सरोकारवालासँग संवाद गरेर समस्याको समाधान निकालिने बताएका छन् । उनले विधान संशोधनबाहेक आफूले गर्न सक्ने क्याम्पस सुधारका सबै कार्य अविलम्ब गर्ने जानकारी गराएका छन् ।









