वीरगंज, ६ चैत्र –
मलेसियाको सबाह राज्यअन्तर्गत सान्दाकान जिल्लामा आइतबार राति भएको आगलागीमा झण्डै १ हजार घर जलेर नष्ट भएका छन् भने ९ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।
स्थानीय समयअनुसार राति करिब साढे १ बजे सुरु भएको आगलागी तीव्र हावा र घरहरू एकआपसमा नजिक रहेकाले छिटो फैलिएको जनाइएको छ। आगो पानीमाथि खम्बामा बनाइएका काठका घरहरू रहेको ‘वाटर भिलेज’ क्षेत्रबाट सुरु भएको थियो।
उक्त क्षेत्रमा मुख्यतः गरिब, आदिवासी तथा राज्यविहीन समुदायका मानिसहरू बसोबास गर्दै आएका छन्। प्रहरीले घटनामा मानवीय क्षति नभएको जनाएको भए पनि हजारौं मानिस विस्थापित भएका छन्।
मलेसियाका प्रधानमन्त्री अनवर इब्रहिमले पीडितको सुरक्षालाई प्राथमिकतामा राख्दै संघीय र प्रादेशिक सरकार मिलेर राहत तथा अस्थायी बसोबासको व्यवस्था गरिरहेको बताउनुभएको छ।



