पर्सा निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा

वीरगंज , ७ वैशाख –

पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षणलाई थप प्रभावकारी बनाउन उद्धार केन्द्र सञ्चालनमा ल्याइएको छ। ३१ औँ वन्यजन्तु सप्ताह २०८३ को अवसरमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै निकुञ्ज प्रशासनले संरक्षण अभियानलाई सुदृढ बनाउने जनाएको हो।

“सुरक्षित मानिस, संरक्षित वन्यजन्तु” भन्ने सन्देशलाई व्यवहारमा उतार्ने उद्देश्यसहित स्थापना गरिएको उद्धार केन्द्र (हात्तीसार) ले घाइते, बस्तीमा प्रवेश गरेका तथा जोखिममा परेका वन्यजन्तुको उद्धार, उपचार र पुनःस्थापनामा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले संरक्षणमा समुदायको सहभागिता बढ्दै जानु सकारात्मक भएको उल्लेख गर्दै विकास र संरक्षणबीच सन्तुलन आवश्यक रहेको बताउनुभयो।

उद्धार केन्द्रको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गरेका छन । उनले स्थानीय तह र निकुञ्जबीच सहकार्य बढाउनुपर्नेमा जोड दिँदै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा सहभागीहरूले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, अवैध सिकार नियन्त्रण र प्राकृतिक स्रोतको दिगो उपयोगमा ध्यान दिनुपर्ने बताएका थिए। साथै सञ्चारकर्मीलाई संरक्षणसम्बन्धी विषयवस्तु तथ्यपरक रूपमा प्रस्तुत गर्न आग्रह गरिएको थियो।

अन्तरक्रियाअघि सञ्चारकर्मीलाई निकुञ्ज क्षेत्रको स्थलगत अवलोकनसमेत गराइएको आयोजकले जनाएको छ।

सम्बन्धित पोस्टहरुः