वीरगंज , ७ वैशाख –
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, वीरगंजमा १९ औँ स्थापना दिवस तथा वार्षिक उत्सव विशेष समारोहका साथ सम्पन्न भएको छ। सजावटयुक्त मञ्च, पुष्पमालासहितको आकर्षक वातावरण र सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख कृष्ण ढकाल प्रमुख अतिथि रहेका थिए भने गणपति मोहन बहादुर क्षेत्रीले अध्यक्षता गरेका थिए।
समारोहमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक सुदीप पाठकसहित विभिन्न सुरक्षा निकायका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी बलको स्थापना कालदेखि हालसम्म सीमा सुरक्षा, विपद् व्यवस्थापन र शान्ति सुरक्षामा खेलेको भूमिकाबारे चर्चा गरिएको थियो। साथै उत्कृष्ट कार्य गर्ने सुरक्षाकर्मीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
समारोहमा सांस्कृतिक प्रस्तुति, परेड प्रदर्शन तथा विविध कार्यक्रममार्फत उपस्थितलाई मनोरञ्जनसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले संगठनप्रति समर्पण, अनुशासन र राष्ट्रसेवाको भावनालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।


