वीरगंज , ७ वैशाख –
करिश्मा मानन्धरले पाँच महिना अघि दिएको अन्तर्वार्ताको अंश सामाजिक सञ्जालमा भाइरल भएपछि असन्तुष्टि व्यक्त गरेकी छन्। उनले भिडियो लिंक सेयर गर्दै सन्दर्भ नबुझी अतिरञ्जित रूपमा प्रस्तुत गरिएकोप्रति आपत्ति जनाएकी हुन्।
उनले अन्तर्वार्तामा व्यक्त विचार व्यक्तिगत सन्दर्भमा रहेको उल्लेख गर्दै जीवनमा परिस्थितिअनुसार सम्बन्ध बन्नु स्वाभाविक र निजी अधिकारभित्र पर्ने बताएकी छन्। समाचार लेख्दा र टिप्पणी गर्दा संवेदनशील हुन तथा सम्मानजनक भाषा प्रयोग गर्न उनले आग्रह गरेकी छन्।
पैसा कमाउने उद्देश्यले विषयलाई बढाइचढाइ गर्ने प्रवृत्ति ठीक नभएको उल्लेख गर्दै उनले यस्ता गतिविधि बढे कानुनी व्यवस्था आवश्यक हुन सक्ने चेतावनीसमेत दिएकी छन्। पुरानो कलाकारका रूपमा आफ्नो जीवन खुला रहेको बताउँदै अनावश्यक सामग्री बनाइएकोप्रति उनले आश्चर्य व्यक्त गरेकी छन्।
भाइरल अन्तर्वार्तामा उनले आफ्ना पति विनोदसँगको सम्बन्धबारे खुला रूपमा धारणा राखेकी थिइन्। कानुनी रूपमा श्रीमान्–श्रीमती भए पनि व्यवहारमा ‘बेस्ट फ्रेन्ड’ जस्तो सम्बन्ध रहेको र विश्वास, समझदारी तथा साथ नै सम्बन्धको आधार हुने उनले उल्लेख गरेकी छन्।


