वीरगंज , ८ वैशाख –
वीरगंज महानगरपालिका क्षेत्रमा मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटरभित्र रहेका अतिक्रमित संरचना हटाउने अभियान दुई दिनमै सम्पन्न गरिएको छ। आइतबार बिहानदेखि डोजर प्रयोग गरी सुरु गरिएको अभियान सोमबारसम्ममा सकिएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ।
कार्यालयका अनुसार त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि नेपाल–भारत सीमास्थित मितेरी पुलसम्म करिब १ हजार २ सय घर, टहरा तथा अन्य संरचनामा डोजर चलाइएको हो। अतिक्रमण हटाएसँगै अब सडक विस्तारको काम अघि बढाउने तयारी गरिएको छ।
सडक डिभिजन कार्यालयकी इन्जिनियर दिलासा तिवारीका अनुसार भत्काइएका संरचनाबाट निस्किएको फोहोर व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको छ। उनले अब विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने प्रक्रिया अघि बढाइएको जानकारी दिइन्।
तिवारीका अनुसार डिपिआर तयार हुन करिब ३–४ महिना लाग्ने अनुमान गरिएको छ भने आगामी आर्थिक वर्षदेखि मात्र निर्माण कार्य सुरु हुनेछ। केन्द्र सरकारबाट बजेट प्राप्त भएपछि गण्डक चोकदेखि मितेरी पुलसम्म ६ लेनको सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइने र निर्माण सम्पन्न हुन करिब दुई वर्ष लाग्ने अनुमान गरिएको छ।
यसैबीच, बाँकी रहेका संरचना घरधनीलाई आफैं हटाउन आग्रह गरिएको छ। तोकिएको समयभित्र नहटाए पुनः डोजर प्रयोग गरिने चेतावनी दिइएको छ। साथै, २५ मिटर दायराभित्र नपरेका तर भत्काइएका संरचनाका घरधनीलाई जिल्ला प्रशासन कार्यालय पर्सामार्फत सम्पर्क गर्न भनिएको छ।
अभियानपछि मुख्य बजार क्षेत्र अस्तव्यस्त देखिएको छ। सरसफाइ ढिलो हुँदा क्षेत्र खण्डहरजस्तो बनेको भन्दै स्थानीयले गुनासो गरेका छन् भने घरधनी तथा व्यवसायीहरूले पर्याप्त समय नदिइएको भन्दै असन्तुष्टि जनाएका छन्।



