वीरगंज , ९ बैशाख –
गर्मी बढेसँगै तराई–मधेशका जिल्लामा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन्। डिभिजन वन कार्यालय बाँकेका अनुसार रसेल भाइपर, करेत, गोबन, फेटारा, धामन र अजिङ्गरलगायत सर्प सक्रिय हुन थालेका हुन्।
सिनियर डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताका अनुसार अहिले दैनिक १ देखि ३ वटासम्म सर्प उद्धार गर्नुपर्ने अवस्था आएको छ। अत्यधिक गर्मीका कारण सर्प चिसो स्थानको खोजीमा बाहिर निस्कँदा कतिपय घरभित्र पस्ने गरेका छन्।
सर्पविज्ञ करण साहले सर्पदंशबाट जोगिन बाहिर निस्कँदा पूरा कपडा लगाउने, राति टर्च प्रयोग गर्ने, भुइँमा नसुती खाटमा सुत्ने र झुल प्रयोग गर्न सुझाव दिएका छन्। घरआँगन सफा राख्न र घाँस–दाउरा गर्दा सतर्क रहन पनि आग्रह गरिएको छ।
सर्प देख्दा जिस्क्याउने वा लखेट्ने नगरी सुरक्षित दूरीमा बस्न र आवश्यक परे उद्धारकर्तालाई खबर गर्न भनिएको छ। सर्पदंश भएमा घरेलु उपचार नगरी तुरुन्त अस्पताल पुग्नु नै उत्तम उपाय भएको विज्ञहरूले बताएका छन्।


