वीरगंज , ९ बैशाख –
इरानले स्ट्रेट अफ हर्मुजमा तीन वटा मालवाहक जहाजमाथि आक्रमण गरी दुईलाई नियन्त्रणमा लिएपछि मध्यपूर्वमा जारी कूटनीतिक प्रयासहरू थप जटिल बनेका छन्। इरानको अर्धसैनिक बल इस्लामिक रिभोलुशनरी गार्ड कोर्प्सद्वारा गरिएको उक्त कारबाहीबाट जहाजहरूमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।
यस घटनाअघि डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अनिश्चितकालका लागि विस्तार गर्ने घोषणा गरेका थिए, तर इरानले उक्त प्रस्ताव औपचारिक रूपमा स्वीकार नगरेको जनाइएको छ। अमेरिकी पक्षले इरानी बन्दरगाहहरूमा नाकाबन्दी कायम राख्ने बताएपछि इरानले त्यसलाई अस्वीकार्य भन्दै आपत्ति जनाएको छ।
यसैबीच पाकिस्तानले दुवै पक्षलाई वार्तामा ल्याउन कूटनीतिक पहल तीव्र बनाएको छ। इस्लामाबादमा प्रस्तावित वार्ताको पहिलो चरण अप्रिल ११ र १२ मा निष्कर्षविना सकिएको थियो भने दोस्रो चरणका लागि अझै औपचारिक सहमति हुन बाँकी छ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले युद्धविराम विस्तारको स्वागत गर्दै वार्तामार्फत समाधान खोज्ने प्रतिबद्धता जनाएका छन्। अघिल्ला छलफलहरूमा इरानको आणविक कार्यक्रम, क्षेत्रीय प्रभाव र हर्मुज जलमार्ग मुख्य विवादका विषय बनेका थिए, र हाल पनि दुवै पक्षबीच मतभेद कायम रहेको संकेत गरिएको छ।


