आयोजना बैंकबाहिरका आयोजना बजेटमा नराख्न राष्ट्रिय योजना आयोगको आग्रह

वीरगंज , ९ बैशाख –

राष्ट्रिय योजना आयोगले आयोजना बैंकमा नपरेका आयोजना बजेटमा समावेश नगर्न सरकारसँग आग्रह गरेको छ।

सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आयोगका सचिव रविलाल पन्थले यस विषयमा अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए ।

सचिव पन्थका अनुसार चैत २२ गतेसम्म आयोजना बैंक प्रणालीमा २ हजार १५७ वटा आयोजना प्रविष्ट भएका छन्। १ अर्बभन्दा माथि र तलका तथा अध्ययन र विशेष परिस्थितिका आयोजनाको स्क्रिनिङ भइरहेको र चाँडै अन्तिम टुंगो लाग्ने पनि उनले जानकारी दिए ।

उनले आयोजना बैंकमा प्रविष्ट र मापदण्डअनुसारका आयोजना मात्र बजेटमा समेटिनुपर्नेमा जोड दिँदै बाहिरका आयोजनामा बजेट विनियोजन नगर्नुपर्ने धारणा राखे।

यसैबीच राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले राष्ट्रिय लक्ष्य हासिल गर्ने र नागरिकको जीवनस्तर सुधार गर्ने खालका नतिजामुखी बजेट आवश्यक रहेको जनाएको छ।

आयोगका सचिव दिनेश घिमिरेको सङ्घीय सरकारले सशर्त अनुदान दिँदा निश्चित आयोजना तोक्नुभन्दा नतिजामुखी क्षेत्र केन्द्रित गर्नुपर्ने सुझाव छ।

सम्बन्धित पोस्टहरुः