वीरगंजका मदरसामा प्रहरीको अनुगमन तीव्र

वीरगंज , १० बैशाख –

पर्सा जिल्ला प्रहरीअन्तर्गत वीरगंज क्षेत्रमा सञ्चालित मदरसाहरूमा चेकजाँच तथा अनुगमनलाई तीव्र बनाइएको छ। पहिलो चरणमा वीरगञ्ज महानगरपालिका–छपकैया क्षेत्रमा रहेका चार वटा मदरसामा बिर्ता वडा प्रहरी कार्यालयको टोलीले स्थलगत निरीक्षण गरेको हो।

प्रहरी निरीक्षक बिक्रम सुवेदीको नेतृत्वमा गरिएको अनुगमनमा मदरसाहरूको प्रशासनिक अवस्था, दर्ता प्रक्रिया तथा सञ्चालनसम्बन्धी कागजातहरूको जाँच गरिएको थियो। यस क्रममा एक मदरसा दर्ता बिना सञ्चालनमा रहेको पाइएपछि कानुनअनुसार दर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो समय देखिएका केही गतिविधिलाई ध्यानमा राख्दै अनुगमनलाई नियमित र व्यवस्थित बनाइएको हो। पर्सा प्रहरी र बिर्ता वडा प्रहरी कार्यालयको संयुक्त टोलीले अन्य मदरसाहरूमा पनि निरन्तर निरीक्षण जारी राख्ने जनाएको छ।

प्रहरीले सबै शैक्षिक संस्थालाई कानुनी मापदण्डभित्र रहेर सञ्चालन गर्न र आवश्यक कागजातहरू अद्यावधिक राख्न आग्रह गरेको छ। साथै, कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल जानकारी गराउन सरोकारवालासँग अनुरोध गरिएको छ, जसले सुरक्षा र सामाजिक सद्भाव दुवै कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित पोस्टहरुः