रक्सौल , १० बैशाख –
भारत विकास परिषद् रक्सौल शाखाको आयोजनामा वीर कुँवर सिंहको १६८ औं विजयोत्सव रक्सौलस्थित कोइरिया टोला क्षेत्रमा श्रद्धापूर्वक मनाइएको छ। १८५७ को प्रथम स्वतन्त्रता संग्रामका महान् नायकको बहादुरी, साहस र देशभक्तिबारे कार्यक्रममा चर्चा गरिएको थियो।
कार्यक्रम संस्कार संयोजक नितेश कुमार सिंहको संयोजन र शाखा अध्यक्ष रजनीश प्रियदर्शीको अध्यक्षतामा सम्पन्न भएको हो। दीप प्रज्वलन, ‘वन्दे मातरम’को सामूहिक गायन तथा वीर कुँवर सिंहको चित्रमा माल्यार्पण गरी कार्यक्रम सुरु गरिएको थियो।
अध्यक्षीय सम्बोधनमा रजनीश प्रियदर्शीले वीर कुँवर सिंह सम्पूर्ण राष्ट्रका गौरव रहेको उल्लेख गर्दै ८० वर्षको उमेरमा ब्रिटिश शासनविरुद्ध लडेको साहस युवापुस्ताका लागि प्रेरणादायी भएको बताए। कार्यक्रममा सहभागीहरूले उनको जीवनका विभिन्न प्रसङ्ग स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रममा सचिव नरेश कुमार, नितेश कुमार सिंहलगायत अन्य वक्ताहरूले वीर कुँवर सिंहको योगदानले भावी पुस्तालाई निरन्तर प्रेरणा दिने विश्वास व्यक्त गरे। राष्ट्रिय गानसँगै कार्यक्रम समापन गरिएको आयोजकले जनाएको छ।



