नेशनल मेडिकल कलेजविरुद्ध सरकारी हस्तक्षेपको माग

वीरगंज , १० बैशाख –

वीरगंजस्थित नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकहरूले कलेज प्रशासनले शैक्षिक प्रमाणपत्र रोक्का राख्नुका साथै आवास र खानामा उच्च शुल्क लिई आर्थिक दबाब सिर्जना गरेको आरोप लगाएका छन्। उनीहरूले स्वास्थ्य तथा शिक्षा मन्त्रालयसमक्ष हस्तक्षेप गरी समस्या समाधान गर्न माग गरेका हुन्।

चिकित्सा शिक्षा आयोगबाट छनोट भई अध्ययनरत चिकित्सकहरूले कलेजको प्रचलनलाई मापदण्डविपरीत र शोषणमूलक भएको दाबी गर्दै प्रमाणपत्र तत्काल फिर्ता गर्न, अनिवार्य होस्टेल–मेस व्यवस्था हटाउन तथा वैकल्पिक बसोबासको सुविधा दिनुपर्ने माग गरेका छन्।

उनीहरूको भनाइअनुसार कलेजले आवास, खाना र इन्टरनेट शीर्षकमा वार्षिक दुई लाखभन्दा बढी शुल्क अनिवार्य रूपमा असुल्दै आएको छ। शुल्क नतिरेसम्म कोठा नदेखाइने र अन्य विकल्प नदिइने व्यवस्था रहेको समेत उनीहरूले उल्लेख गरेका छन्। साथै, दिनमा चार पटक बायोमेट्रिक हाजिरी गर्नुपर्ने प्रावधानप्रति पनि असन्तुष्टि जनाइएको छ।

चिकित्सकहरूले यस्तो व्यवस्था पेसागत स्वतन्त्रताविपरीत भएको भन्दै नियामक निकायले तोकेको मापदण्डअनुसार कलेज सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।

यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुनासोबारे अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै छिट्टै प्रतिवेदन पेश गर्न भनेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः