वीरगंज , १० बैशाख –
वीरगञ्ज महानगरपालिकाले त्रिभुवन राजपथ विस्तारका क्रममा घरहरू भत्किएपछि उत्पन्न अवस्थाको मौका छोपी भाडा वृद्धि, दबाब र अनियमित गतिविधि बढेको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।
महानगरका अनुसार सडक विस्तारपछि विस्थापित भएका व्यवसायीलाई अन्य स्थानमा बसोबास गराइरहेका घरधनीहरूले अत्यधिक भाडा बढाउने, सम्झौता अवधि अगावै हटाउने दबाब दिने तथा अनधिकृत रूपमा धरौटी माग गर्ने जस्ता गुनासो बढेका छन्।
यसै सन्दर्भमा महानगरले घर, कोठा, सटर र गोदाम बहालमा दिँदा आपसी सहमतिमा यथार्थ भाडा दर निर्धारण गर्न आग्रह गरेको छ। साथै, वडा कार्यालयबाट प्रमाणित गरिएको सम्झौताको एक प्रति अनिवार्य रूपमा नगर कार्यपालिकाको राजस्व व्यवस्थापन महाशाखामा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
महानगरले दबाबमा आधारित लेनदेन, फर्जी सम्झौता वा अन्य अनियमित गतिविधि भएको पाइएमा सुरुदेखि नै जरिवाना लगाइने तथा प्रचलित कानुनअनुसार थप कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ।
महानगरले सबै पक्षलाई कानुनी प्रक्रिया पालना गर्दै पारदर्शी र न्यायोचित रूपमा बहाल कारोबार गर्न आग्रह गरेको छ।


