वन्यजन्तु क्षति न्यूनीकरण गर्न ‘बाघ मित्र’ अभियान सुरु

वीरगंज , ११ बैशाख –

पर्सा राष्ट्रिय निकुञ्जले बाघलगायत वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षति घटाउन ‘बाघ मित्र’ अभियान सञ्चालन गरेको छ। निकुञ्ज प्रमुख रामचन्द्र खतिवडाका अनुसार पर्सा, बारा र मकवानपुरका डिभिजन वन कार्यालयसँग समन्वय गरी समुदायस्तरमा कार्यक्रम सञ्चालन गरिएको हो।

अभियानअन्तर्गत स्थानीय सहभागितामा वन्यजन्तुको महत्वबारे जनचेतना फैलाउने, जोगिने उपाय सिकाउने र समस्या समाधानका विषयमा छलफल कार्यक्रम गरिँदै आएको छ। निकुञ्जले बाघ संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धन गर्ने लक्ष्य पनि लिएको जनाएको छ।

वनमा आगजनी र चोरी सिकारीजस्ता गतिविधिका कारण वन्यजन्तु बासस्थान छाडेर बस्तीमा पस्ने समस्या बढेकाले त्यस्ता गतिविधि नियन्त्रणमा जोड दिइएको निकुञ्ज प्रशासनको भनाइ छ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वन्यजन्तुबाट प्रभावितलाई १९ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको छ। सो अवधिमा सबैभन्दा बढी क्षति मकवानपुरमा भएको उल्लेख गरिएको छ।

यसै अवधिमा सिकारी तथा वनपैदावारसम्बन्धी सात वटा मुद्दा दर्ता भई १५ जना पक्राउ परेका छन्। साथै गिट्टी, बालुवा तथा वनपैदावारबाट ६० लाख ५३ हजार २५५ रुपैयाँ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ।

सम्बन्धित पोस्टहरुः