वीरगंज , ११ बैशाख –
मधेस प्रदेशका प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द थपलिया असुलीसम्बन्धी आरोपपछि विवादमा तानिएका छन्। धनुषाको प्रहरी चौकी जानकीका इन्चार्ज सागर शमसेर जबरा र एक व्यापारीबीचको अडियो संवाद सार्वजनिक भएसँगै प्रकरण बाहिर आएको हो।
सार्वजनिक अडियोमा व्यापारीले डीआईजीको नाममा मासिक रूपमा लाखौं रुपैयाँ असुली हुने गरेको आरोप लगाएका छन्। उक्त संवादमा सई जयलाल यादवमार्फत रकम उठाइने गरिएको दाबी गरिएको छ भने मधेस प्रदेश प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ सई गोपाल थापामगरमाथि पनि नाकाबाट असुली धन्दा सञ्चालन गरेको आरोप लागेको छ।
अडियो सार्वजनिक भएपछि सम्बन्धित तीन प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ। यसैबीच, डीआईजी थपलियाले अडियो सार्वजनिक गरेको आरोपमा जबरामाथि निलम्बन प्रक्रिया अघि बढाएका छन्। मधेस प्रदेश प्रहरी कार्यालयले वैशाख ७ गते यसबारे औपचारिक जानकारी दिएको छ।
डीआईजी थपलियाले भने अडियो नियोजित रूपमा तयार गरिएको हुन सक्ने दाबी गर्दै घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।
यसै प्रकरणसँगै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख गौतम केसी पनि छुट्टै अडियो सार्वजनिक भएपछि विवादमा तानिएका छन्। सो विषयमा छानबिन गर्न कमल थापाको नेतृत्वमा समिति गठन गरिएको अवि नारायण काफ्लेले जानकारी दिएका छन्।
प्रहरी प्रधान कार्यालयले दुवै घटनाबारे छानबिन प्रक्रिया अघि बढाइएको जनाएको छ।


