२०औँ लोकतन्त्र दिवस देशभर विविध कार्यक्रमसहित मनाइँदै

वीरगंज , ११ बैशाख –

नेपालमा आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। वि.सं. २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलहरूको मार्गचित्रअनुसार विघटन भएको संसद् पुनर्स्थापना गरेपछि त्यस दिनलाई नागरिकको विजयका रूपमा स्मरण गर्दै २०६४ सालदेखि लोकतन्त्र दिवस मनाउन थालिएको हो।

वि.सं. २०६१ माघ १९ गते राजाले प्रत्यक्ष शासन सम्हालेपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो। त्यसपछि २०६२ मङ्सिरदेखि जनआन्दोलनले तीव्रता पाएको थियो।

आन्दोलनकै दबाबमा २०६३ वैशाख ११ गते संसद् पुनर्स्थापना गरिएको थियो भने २०६३ जेठ ४ गतेको संसद्ले राजाको अधिकार कटौती गर्दै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो।

यसै प्रक्रियाबाट २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो। त्यसपछि २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरेको थियो।

पछिल्लो चरणमा २०७२ असोज ३ गते नयाँ संविधान जारी भएसँगै संघीय संरचना कार्यान्वयनमा आएको छ। हाल संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकार सञ्चालनमा रहेका छन्।

लोकतन्त्र स्थापना पछिका दुई दशकमा राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा उल्लेख्य परिवर्तन भएको भन्दै वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रूपमा विशेष महत्वका साथ मनाउने गरिएको छ।

सम्बन्धित पोस्टहरुः