आफ्नै बिहेको निम्तो बाड्न आएका युवकको मृत्यु

वीरगंज , १४ बैशाख –

रौतहटको गौर–चपुर सडक खण्डअन्तर्गत निर्माणाधीन कल्भर्टमा खसेर एक भारतीय युवकको मृत्यु भएको छ। निर्माण कम्पनीको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाइएको छ।

भारतको बिहार राज्य सीतामढी जिल्ला बैरगनिया निवासी २० वर्षीय विशाल महतोको शनिबार राति करिब ११ बजे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी आफ्नै विवाहको निम्तो बाँड्न आफन्तको घरतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन्।

गौर नगरपालिका–६ सबगढा क्षेत्रमा निर्माणाधीन सडकखण्डको कल्भर्टमा मोटरसाइकलसहित खसेका उनको ज्यान गएको हो। स्थानीयका अनुसार निर्माणस्थलमा चेतावनी बोर्ड, संकेत चिन्ह, बत्ती वा सुरक्षा घेरा नहुँदा दुर्घटना भएको हो।

उक्त सडक खण्डको निर्माण जिम्मा पाएको कम्पनीले न्यूनतम सुरक्षा मापदण्ड पालना नगरेको आरोप स्थानीयवासीले लगाएका छन्। यस सडक स्तरोन्नति योजनाअन्तर्गत चार लेन विस्तार कार्य भइरहे पनि आवश्यक सुरक्षा व्यवस्था कमजोर रहेको गुनासो छ।

रौतहट प्रहरीले मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित पोस्टहरुः