भ्रामक तथा साम्प्रदायिक अभिव्यक्तिप्रति महानगरको आपत्ति

वीरगंज , १३ बैशाख –

सडक विस्तारविरुद्ध भइरहेको प्रदर्शनका क्रममा आएका भ्रामक तथा साम्प्रदायिक अभिव्यक्तिप्रति वीरगंज महानगरपालिकाले गम्भीर आपत्ति जनाएको छ।

“वीरगंज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति” को ब्यानरमा भइरहेको आन्दोलनका क्रममा केही व्यक्तिहरूले तथ्यहीन र सामाजिक सद्भाव बिगार्ने अभिव्यक्ति दिएको भन्दै महानगरले विज्ञप्ति जारी गरेको हो। महानगर प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा त्यस्ता अभिव्यक्तिहरू निन्दनीय रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा महानगर प्रमुखमाथि गरिएको गालीबेइजती तथा राष्ट्रिय विभूति शंखधर साख्वाबारे गरिएको टिप्पणीप्रति पनि आपत्ति जनाउँदै यस्ता गतिविधिले सामाजिक एकता कमजोर पार्ने चेतावनी दिइएको छ।

महानगरले चिल्ड्रेन पार्कसम्बन्धी उठाइएका विषयहरू तथ्यपरक नभएको स्पष्ट पार्दै शंखधर साख्वाको शालिक स्थानान्तरण गरेर राखिएको जनाएको छ।

साथै, साम्प्रदायिक तथा उत्तेजक अभिव्यक्ति दिने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न प्रशासनसँग माग गरिएको छ। महानगरले सबै पक्षलाई संयमता अपनाउन, तथ्यमा आधारित अभिव्यक्ति दिन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।

महानगरका अनुसार सर्वोच्च अदालतको अन्तिम फैसलापछि सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार कार्य अघि बढाएको हो।

सम्बन्धित पोस्टहरुः