वीरगंज , १३ बैशाख –
काठमाण्डौ उपत्यकामा नदी किनार तथा सार्वजनिक जग्गा खाली गराउने अभियान तीव्र बनाइएको छ । अहिलेसम्म २१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा आएको र उनीहरूलाई अस्थायी बसोवास तथा खाद्यान्नको व्यवस्था गरिएको जनाइएको छ ।
सरकारी टोलीले कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बुद्धचोक र वडा नम्बर ९ मनोहरा टोल क्षेत्रमा जोखिमयुक्त बस्ती हटाउने काम अघि बढाएको छ । संरचना हटाउनुअघि स्थानीयका सरसामान सुरक्षित रूपमा सार्न सुरक्षाकर्मीले सहजीकरण गरेका छन् ।
यसअघि काठमाण्डौ महानगरपालिका–११ थापाथली, वडा नम्बर ९ गैरीगाउँ–सिनामङ्गल र वडा नम्बर ३१ शान्तिनगरका अतिक्रमित बस्ती हटाइसकिएको छ । प्राधिकरणका अनुसार यी क्षेत्रमा ८७१ सुकुम्वासी परिवार बसोवास गर्दै आएका थिए ।
अभियानकै क्रममा भक्तपुरको मनोहरा क्षेत्रमा अवरोध हुँदा ढुङ्गा प्रहारबाट २२ जना सुरक्षाकर्मी घाइते भएका छन् । उता विस्थापितहरूको अवस्थाबारे अध्ययन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली पनि फिल्डमा खटिएको छ ।
आयोगले मानव अधिकारको सम्मान गर्दै वास्तविक सुकुम्वासीको पहिचानपछि मात्र व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ ।


