वीरगंज , १४ बैशाख –
उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले इन्धनसँगै दैनिक उपभोग्य वस्तु तथा सेवामा भइरहेको तीव्र मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार जारी विज्ञप्तिमा खाद्यान्न, यातायात लगायत अत्यावश्यक वस्तु तथा सेवाको मूल्य निरन्तर बढ्दा सर्वसाधारणको जीवनयापन कठिन बनेको उल्लेख गरिएको छ। विशेषगरी न्यून आय भएका र मध्यमवर्गीय परिवार बढी प्रभावित भएको मञ्चले जनाएको छ।
बजार अनुगमन कमजोर हुँदा कालोबजारी, कृत्रिम अभाव र मनोमानी मूल्य निर्धारण बढेको भन्दै मञ्चले सम्बन्धित निकायलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ।
मञ्चले पाँच बुँदे माग सार्वजनिक गर्दै सडक विस्तारका क्रममा पर्याप्त समय नदिई संरचना भत्काइएको, सीमा नाकामा कडाइ, महँगी नियन्त्रण तथा बजार व्यवस्थापनमा सक्रियता बढाउन माग गरेको छ। साथै खसीको मासुको मूल्यवृद्धिप्रति प्रश्न उठाउँदै नियामक निकायसँग जवाफ मागिएको छ।
मुख्य सडकबाहेकका क्षेत्रमा सटर भाडा अत्यधिक बढाइएकोप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न स्थानीय सरकारसँग आग्रह गरिएको छ। बजारलाई पारदर्शी र उपभोक्तामैत्री बनाउन प्रशासन जिम्मेवार बन्नुपर्ने मञ्चको माग छ।


