हावाहुरीले पर्सामा ठूलो क्षति, महायज्ञसमेत प्रभावित

परवानीपुर, १४ बैशाख –

गएराति आएको असिना पानीसहितको हावाहुरीले पर्साका विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ।

सखुवाप्रसौनी गाउँपालिका–५ महुवन, वडा–६ एकडर्वा, बहुदरमाई नगरपालिका–७ फुलकौललगायत क्षेत्रमा फुसका घर, भकारी र विद्युत संरचनामा क्षति पुगेको छ।

धेरै स्थानमा विद्युत पोल ढल्दा आपूर्ति अवरुद्ध भएको छ भने एकडर्वा गाउँको मुख्य बाटोसमेत अवरुद्ध भएको गाउँपालिका अध्यक्ष यशवन्त यादवले जानकारी दिए।

यसैबीच, रामनगरीमा जारी महायज्ञ पनि हावाहुरीका कारण प्रभावित भएको छ। विसर्जन कार्यक्रम तयारी भइरहेको अवस्थामा झुला लगायतका संरचना समेत ढलेको स्थानीयले बताएका छन्।

पर्साका अन्य पालिकामा पनि आंशिक क्षति भएको बताइएको छ। स्थानीय तहले क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः