वीरगंज , १४ बैशाख –
बारा जितपुर–सिमरा उपमहानगरपालिका–२४ हरपुरमा आयोजित मुस्लिम धर्मावलम्बीहरूको धार्मिक सम्मेलन (इस्तमा) सम्पन्न भएको छ।
गत शुक्रबारदेखि सुरु भएको कार्यक्रममा नेपालका विभिन्न जिल्लासँगै भारतको बिहार, उत्तर प्रदेशलगायत राज्यबाट गरी ५० हजारभन्दा बढी सहभागी भएको मूल आयोजक समितिका अध्यक्ष भोला मियाँ अन्सारीले जानकारी दिए।
स्थानीय तह, उपमहानगरपालिका, प्रशासन तथा गृह मन्त्रालयको पूर्वस्वीकृतिमा कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले बताए। कार्यक्रम अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको थियो।
सम्मेलनमा दिल्लीबाट आएका पाँच जना मौलानाले धार्मिक प्रवचन दिएका थिए। सोमबार बिहान सामूहिक दुवा नमाजपछि कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको घोषणा गरिएको हो।
कार्यक्रम सकिएपछि सहभागीहरू आ–आफ्नो गन्तव्यतर्फ फर्किएका छन्। आयोजकका अनुसार कार्यक्रमका लागि लाग्ने खर्चको अन्तिम विवरण पछि सार्वजनिक गरिनेछ। कार्यक्रमपछि मैदानमा फोहर जम्मा भएको र एक हप्ताभित्र सफाइ गरिने जनाएको छ।


