काठमाडौं। शोभा पाठक र नेकपा एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतबीच भुतलाभुतल भएपछि अम्बिकासहित १० जनालाई प्रहरीले हिरासतमा राखेको छ । सोमबार दिउँसो माइतीघर मण्डलामा सुधन गुरूङलाई फेरि गृहमन्त्री बनाउन माग गर्दै धर्नामा बसेकी पाठक र अम्बिकाबीच हात हालाहाल भएको थियो । घटनापछि प्रहरीले अम्बिकासहित १० जनालाई नियन्त्रणमा लिएको थियो।
झडपमा पाठक भने घाइते भएको जनाइएको छ । उनी ट्रमा सेन्टरमा उपचाररत छिन् ।ट्रमाबाट स्टाटस लेख्दै पाठकले आफूमाथि महेश बस्नेतकी पत्नी र नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेको बताएकी छन् ।उनले लेखेकी छन्- ‘म माइतीघर मण्डलामा बसिरहेको बेला महेश बस्नेतकी स्वास्नी र नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेको छ । न्यायप्रेमी पत्रकार र आमाबुवा दाजुभाइ दिदीबहिनीलाई अनुरोध गर्न चाहन्छु। मेरो ज्यान मार्ने आएका त्यो जमातलाई प्रहरी परिसर प्रमुख एमाले निकट भएको कारणले मलाई शङ्का छ।म यतिबेला ट्रमा सेन्टरमा छु।’
यता महेश बस्नेतले भने आफू र आफ्नो परिवारमाथि गरिएको साइबर अपराधविरुद्ध उजुरी दिन साइबर ब्युरो जाने क्रममा माइतीघर क्षेत्रमा भएको भिडभाड झ्यालबाट हेर्दै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिहरू केटा मान्छेले आफ्नी श्रीमतीसहित केही महिलालाई गालीगलौज र हातपात गरेको आरोप लगायका छन् । साथै बस्नेतले सार्वजनिक स्थललाई मन नपरेका व्यक्तिलाई बदनाम गर्ने थलोका रूपमा प्रयोग गरिनु निन्दनीय भएको भन्दै सम्बन्धित निकायले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही नगरे सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन्।यसैबीच जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसारले भने पाठक अस्पतालबाट निस्केर जाहेरी दिएपश्चात् १० जनामाथि कारबाही अगाडि बढाइने बताएका छन् ।भट्टराईका अनुसार पक्राउ परेकाहरूलाई हाल प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।


