पूर्वमन्त्री यादवद्वारा प्रभावित जग्गाधनी एवं व्यवसायीहरूसँग छलफल

वीरगंज, १४ बैशाख — वीरगंज मुख्य बजार हुँदै गएको त्रिभुवन राजपथअन्तर्गतको सडक खण्डमा डोजर चलेपछि पहिलो पटक वीरगंज पुगेका पूर्वमन्त्री प्रदीप यादवले बजार क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

सडक डिभिजन कार्यालयले मुख्य बजार क्षेत्रमा पर्ने सडक खण्डलाई दुवैतर्फ २५–२५ मिटर फराकिलो बनाउने कार्य अघि बढाएसँगै स्थानीय व्यवसायी तथा जग्गाधनीहरू आन्दोलित भइरहेका बेला पूर्वमन्त्री यादवले उनीहरूसँग भेटघाट गरेका छन्।

सडक विस्तारका क्रममा मुख्य सडकमा पर्ने ठूला व्यापारिक भवन तथा स्थानीयका घरहरू भत्काइएपछि वीरगंजको मुख्य बजार क्षेत्र अस्तव्यस्त भई मलवामा परिणत भएको छ। निरीक्षणका क्रममा पूर्वमन्त्री यादवले मुर्ली, घण्टाघर चौक तथा आदर्शनगरलगायतका क्षेत्रहरूको अवलोकन गरेका थिए।

उनले स्थानीय व्यवसायी तथा जग्गाधनीहरूसँग छलफल गर्दै उनीहरूको समस्या, गुनासा तथा सडक विस्तारका कारण परेको प्रत्यक्ष असरबारे जानकारी लिएका थिए।

कार्यक्रममा मधेश प्रदेशका पूर्व सांसद जन्नत अंसारी, वीरगंज महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जयप्रकाश अग्रवाल, वडा नं. ९ का वडा अध्यक्ष जवाहर गुप्ता, वडा नं. ३० का वडा अध्यक्ष मनोज यादव, पूर्व वडा अध्यक्ष तुफान अंसारी, औषधि व्यवसायी प्रमोद सर्राफ तथा स्थानीय युवा नेताहरूको उपस्थिति रहेको थियो।

छलफलका क्रममा पूर्वमन्त्री यादवले सडक विस्तारपछि प्रभावित भएका व्यवसायी र जग्गाधनीहरूको समस्यालाई सम्बोधन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सम्बन्धित पोस्टहरुः