एमआरपी विवादले वीरगंज भन्सार ठप्प, राजस्व संकलन शून्य

1200x150_1200x150-01.jpg (1)

वीरगंज , १ ६ बैशाख –

देशकै प्रमुख व्यापारिक नाका मानिने वीरगंज भन्सार कार्यालयमा बुधबार राजस्व संकलन पूर्ण रूपमा प्रभावित भएको छ। दैनिक ५० करोड रुपैयाँभन्दा बढी संकलन हुने भन्सारमा दिउँसो २ बजेसम्म एक रुपैयाँ पनि राजस्व उठ्न नसकेको कार्यालयले जनाएको छ।

भन्सारका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार व्यापारीहरूले मालसामान जाँचपास रोकेपछि राजस्व संकलन ठप्प भएको हो। मंगलबार मात्रै ३५ करोड रुपैयाँ संकलन भएको थियो।

सरकारले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार बैशाख १ गतेदेखि आयात–निर्यात हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी), उत्पादन मिति, समाप्ति मिति तथा परिमाण अनिवार्य गरेपछि व्यवसायीहरूले विरोधस्वरूप कारोबार रोकेका हुन्। केही दिनदेखि आंशिक रूपमा घट्दै आएको कारोबार बुधबारदेखि पूर्ण रूपमा बन्द गरिएको बताइएको छ।

उक्त ऐनको उल्लंघन गरेमा २ देखि ३ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ। सरकारले उपभोक्तालाई ठगीबाट जोगाउन र बजारमा मूल्य एकरूपता कायम गर्न एमआरपी अनिवार्य गरेको जनाएको छ।

तर व्यवसायीहरूले यस व्यवस्थाले व्यापारमा असर पर्ने भन्दै विरोध जनाउँदै आएका छन्। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले पनि विज्ञप्तिमार्फत निर्णयप्रति असहमति जनाएका छन्।

यसैबीच, उपभोक्ताहरूले भने एमआरपी अभावमा व्यापारीहरूले मनपरी मूल्य लिँदै आएको गुनासो गरेका छन्। स्थानीयका अनुसार आवश्यक वस्तु किन्न कतिपय उपभोक्ता सीमावर्ती भारतीय बजारसम्म जान बाध्य भएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः