ठोरी (पर्सा), २० वैशाख — पर्साको ठोरी गाउँपालिका वडा नम्बर १ मा “जनताको घरदैलोमा डाक्टर” कार्यक्रम सम्पन्न भएको छ। नागरिक समाज ठोरीको आयोजनामा तथा प्रभु हाँस्पिटलको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रममा २५० जनालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको हो।

कार्यक्रमअन्तर्गत १५९ महिला र १०० पुरुषसहित कुल २५९ जनाको स्वास्थ्य परीक्षण, सुगर किटमार्फत मधुमेह परीक्षण तथा आवश्यक औषधि निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ। स्वास्थ्य सेवाबाट वञ्चित, आर्थिक रूपमा विपन्न तथा अस्पतालसम्म पुग्न नसक्ने बिरामीहरूलाई लक्षित गर्दै उनीहरूकै घरदैलोमै पुगेर उपचार तथा परामर्श सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

स्थानीय सन्तोष श्रेष्ठको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा पर्सा-४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्य प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा डा. प्रयास तिमल्सिना (हाडजोर्नी तथा नसारोग विशेषज्ञ) तथा डा. सुरुची श्रेष्ठ ले स्वास्थ्य सेवा प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै सांसद शाक्यले यस्ता सेवा–मुखी कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी, अस्पतालका कार्यक्रम प्रमुख दिलिपराज कार्कीले स्वास्थ्य संस्था व्यवसायिक मात्र नभई सेवामूलक भावनासहित जनतासँग हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने बताए।

कार्यक्रममा ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मी विशिष्ट अतिथिका रूपमा सहभागी हुँदै दुर्गम तथा विकट क्षेत्रका नागरिकलाई लक्षित यस्ता कार्यक्रमहरूमा गाउँपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
यसै अवसरमा वडा नम्बर १ स्थित एक वृद्धाश्रममा रहेका १६ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य परामर्श तथा औषधि सहयोगसमेत प्रदान गरिएको आयोजकले जानकारी दिएको छ।








