वीरगंज , २० वैशाख –
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी अध्ययन प्रतिवेदन चाँडै सरकारलाई बुझाइने बताएका छन् ।
घटनालगत्तै छानबिनका लागि लिली थापाको नेतृत्वमा गठन गरिएको समितिले प्रतिवेदन तयार गरिसकेको भए पनि सार्वजनिक गर्न ढिलाइ भएको भन्दै आलोचना हुँदै आएको छ ।
समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली देखि वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सम्मको बयान लिएको थियो । प्रतिवेदन प्राप्त भएपछि आयोगले थप अध्ययन, संक्षेप तयारी र सारांशका लागि सदस्य मिहिर ठाकुर र मनोज दुवाडीलाई जिम्मेवारी दिएको थियो ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा दुवाडीले प्रतिवेदन तयार भइसकेको र छिट्टै सरकारलाई बुझाइने जानकारी दिएका हुन् ।
यसैक्रममा उनले नवयुवाहरूको आन्दोलनअघि सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको निर्मम प्रहार भएको टिप्पणी गरेका छन् ।














