वीरगंज २२ बैशाख –
वीरगंज भन्सार नाकामा आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने नयाँ व्यवस्थाका कारण एक सातायता जाँचपास प्रक्रिया प्रभावित भएको छ। निजी क्षेत्रको असहमतिका कारण मालसामान जाँचपास रोकिँदा राजश्व संकलनमा समेत उल्लेख्य गिरावट आएको छ।
एकीकृत सुरक्षा जाँच चौकी (आइसीपी) परिसरमा मात्रै करिब १ हजार ७ सय मालबाहक सवारीसाधन थन्किएका छन् भने भारततर्फ पनि सयौँ सवारीसाधन लामबद्ध अवस्थामा रहेका छन्। भन्सार कार्यालयका अनुसार वैशाखमा लक्ष्यको करिब आधा मात्र राजश्व संकलन भएको छ, जुन सामान्य दिनको तुलनामा निकै कम हो।
औद्योगिक कच्चा पदार्थ, इन्धनलगायत सीमित वस्तुबाहेक अन्य सामानको जाँचपास ठप्पजस्तै रहेको छ। व्यवसायीहरूले पर्याप्त छलफल बिना लागू गरिएको एमआरपी व्यवस्था निजी क्षेत्रमैत्री नभएको भन्दै पुनर्विचारको माग गरेका छन्।







