परवानीपुरमा मृत्यु भएको युवकको परिचय खुल्यो

1200x150_1200x150-01.jpg (1)

राधेश्याम पटेल,परवानीपुर, २३ वैशाख-
बाराको परवानीपुर गाउँपालिका–३ स्थित बजार क्षेत्रमा ट्याक्टरले च्यापिँदा मृत्यु भएका युवकको परिचय खुलेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा परवानीपुर–५ सानो नेवतन निवासी ३५ वर्षीय दुखी मुखिया बिन रहेका छन्।

प्रहरीका अनुसार वैशाख २० गते राति माटो ओसार्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा उनी च्यापिएका थिए। बजारमा सेड निर्माण कार्यका लागि जग खन्ने काम भइरहेको र सो क्रममा माटो ओसार्न बजार भन्दा ५० मिटर दक्षिण तीन वटा ट्याक्टर प्रयोग गरिएको बताइएको छ।

घटनामा संलग्न ट्याक्टर वीरगंज–२१ ताजपुरका कासी महतो तात्वाको रहेको प्रहरीले जनाएको छ। ट्याक्टर तथा चालकलाई इलाका प्रहरी कार्यालय प्रसौनीमा राखिएको छ। चालकले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यसैबीच, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले प्रहरीले घटनाको छानबिन गरिरहेको बताएका छन्। उनले दोषीलाई कानुन बमोजिम कारबाही हुने विश्वास व्यक्त गर्दै मृतकका परिवारलाई धैर्यता राख्न अपिल गरेका छन्।

अध्यक्ष कुर्मीले बजारको सेड निर्माण कार्यका क्रममा मानवीय सुरक्षामा विशेष ध्यान दिन ठेक्केदार कम्पनीलाई निर्देशन समेत दिएका छन्। युवक कवाड संकलनको काम गर्थे।

सम्बन्धित पोस्टहरुः