वीरगंज , २३ बैशाख –
वीरगंज महानगरपालिकाले शहरको सौन्दर्य वृद्धि र वातावरणीय सुधारलाई प्राथमिकता दिँदै बीपी उद्यानलाई व्यवस्थित हरियाली पार्कका रूपमा विकास गर्ने कामलाई तीव्रता दिएको छ।
लामो समयदेखि अव्यवस्थित र अतिक्रमणमा परेको उक्त क्षेत्रलाई स्वच्छ, खुला र आकर्षक सार्वजनिक स्थलमा रूपान्तरण गर्ने लक्ष्यका साथ हाल माटो पुर्ने, जमिन सम्याउने तथा सिँचाइको काम भइरहेको महानगरले जनाएको छ।
आगामी चरणमा दुबो रोप्ने, फूल तथा बिरुवा लगाउने र हरियाली व्यवस्थापनलाई व्यवस्थित गरिनेछ।
मेयर राजेशमान सिंहले यो परियोजना केवल पार्क निर्माणमा सीमित नभई समग्र शहरी जीवनस्तर सुधारसँग जोडिएको बताए। उनका अनुसार पार्कले तापक्रम नियन्त्रण, प्रदूषण न्यूनीकरण र स्वस्थ जीवनशैली प्रवर्द्धनमा योगदान पुर्याउनेछ।
महानगरपालिकाले पार्कभित्र पैदल मार्ग, विश्रामस्थल र फूलबारी निर्माण गर्ने योजना बनाएको छ भने उत्तरतर्फको पुरानो रेल्वे लिक क्षेत्रमा रेल्वे संग्रहालय निर्माण गर्ने तयारी पनि अघि बढाइएको छ।
अतिक्रमणमा रहेका व्यवसायीलाई वैकल्पिक व्यवस्थासहित अन्यत्र स्थानान्तरण गरिसकिएको छ। उद्यान निर्माण सम्पन्न भएपछि वीरगञ्जमा शहरी सौन्दर्य वृद्धि, वातावरण संरक्षण र आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।







