वीरगंज , २४ मिति –
पर्साको बहुदरमाई नगरपालिकाले प्रतिस्पर्धाबिना ८६ जना कर्मचारी नियुक्ति गरेको विषय सार्वजनिक भएपछि नगरपालिकाको कार्यशैलीमाथि प्रश्न उठेको छ । आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनमा करार र डोर हाजिरीमार्फत नियमविपरीत कर्मचारी भर्ना गरिएको उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार नगरपालिकाले ११ पदमा ४७ जना करार कर्मचारी नियुक्त गरी १ करोड १० लाख ८१ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै डोर हाजिरीमा ३९ जना राखेर ६७ लाख रुपैयाँ भुक्तानी गरिएको उल्लेख छ । यसरी एक वर्षमै कुल १ करोड ७७ लाख ८१ हजार रुपैयाँ खर्च भएको देखिएको छ ।
लेखापरीक्षणले माली, बगैँचा लगायत आवश्यकतासमेत स्पष्ट नभएका पदमा कर्मचारी राखिएको तथा खुला प्रतिस्पर्धा र विधिसम्मत प्रक्रिया पूरा नगरिएको औँल्याएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कार्यबोझ विश्लेषण र प्रतिस्पर्धाका आधारमा मात्रै करार कर्मचारी नियुक्त गर्नुपर्ने व्यवस्था छ ।
नगर प्रमुख सिंगासन साह तेली, उपप्रमुख सुष्मा कुमारी कुशवाहालगायत जिम्मेवार पदाधिकारीको मिलेमतोमा नियुक्ति गरिएको आरोप स्थानीयस्तरमा उठेको छ ।
नगरवासीले विकासभन्दा कार्यकर्ता व्यवस्थापनमा बढी ध्यान दिइएको गुनासो गरेका छन् । यता सरोकारवालाहरूले नियमविपरीत भएका नियुक्ति र खर्चबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।







