वीरगंज , २५ बैशाख
वीरगंज महानगरपालिकाले लामो समयदेखि निष्क्रिय रहेका सहकारी संस्थाको दर्ता खारेजी प्रक्रिया अघि बढाएको छ । महानगरले शुक्रबार सूचना जारी गर्दै आफ्नो क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका ८८ वटा सहकारी संस्थाको दर्ता खारेजी प्रक्रिया सुरु गरिएको जनाएको हो ।
महानगरका अनुसार ती सहकारीहरूले लामो समयदेखि आर्थिक कारोबार नगरेको, मासिक प्रगति प्रतिवेदन नबुझाएको, वार्षिक साधारण सभा नगरेको, लेखापरीक्षण प्रतिवेदन पेश नगरेको तथा कोपोमिस प्रणालीमा विवरण अद्यावधिक नगरेको पाइएको छ ।
महानगरको सहकारी शाखाले २०८२ चैत १२ गतेको निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ । साथै ती संस्था सम्पर्कविहीन रहेको र सहकारी अभियानको मर्मविपरीत गतिविधि भएको जानकारी विभिन्न माध्यमबाट प्राप्त भएको बताइएको छ ।
वीरगंज महानगरपालिकाको सहकारी ऐन, २०७४ अनुसार दफा ६६ (३) बमोजिम प्रक्रिया अघि बढाइएको र दफा ६६ (४) अनुसार सम्बन्धित संस्थालाई ३५ दिने सूचना जारी गरिएको छ ।
महानगरले तोकिएको अवधिभित्र आवश्यक कागजातसहित सम्पर्कमा आउन सम्बन्धित सहकारीलाई आग्रह गरेको छ । अन्यथा कानुनअनुसार दर्ता खारेजी गरिने चेतावनी दिइएको छ ।







