पर्सा , २६ बैशाख —
सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरी भण्डारण गरिएको करिब १४ लाख रुपैयाँ बराबरको कपडा तथा किराना सामान बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले बाराको विश्रामपुर गाउँपालिका–५ नकटुवा बिर्ताटोलस्थित गोठमा छापा मारेर ११ लाख ७५ हजार ५ सय रुपैयाँ बराबरका १७ पोका कपडा बरामद गरेको हो ।
त्यसैगरी पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा क्षेत्रमा भारतबाट अवैध रूपमा भित्र्याएर लुकाइछिपाइ राखिएको २ लाख ३५ हजार ५ सय रुपैयाँ बराबरको किराना सामान पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।







