एजेन्सी , २७ बैशाख –
अमेरिका, क्यानडा र अष्ट्रेलियाका धेरै विद्यालय तथा विश्वविद्यालयमा प्रयोग हुने अनलाइन शैक्षिक प्लेटफर्म ‘क्यानभास’मा साइबर आक्रमण भएपछि परीक्षा, असाइनमेन्ट र कक्षाहरू प्रभावित भएका छन् ।
बीबीसीका अनुसार ‘शाइनीहन्टर्स’ नामक ह्याकिङ समूहले आक्रमणको जिम्मा लिएको छ । साइबर आक्रमणपछि केही समय क्यानभास प्रणाली पूर्ण रूपमा बन्द भएको थियो भने विश्वभर करिब ९ हजार शैक्षिक संस्था प्रभावित भएका छन् ।
विद्यार्थीहरूले परीक्षा दिइरहेका बेला कम्प्युटर स्क्रिनमा बिटक्वाइनमा फिरौती मागिएको सन्देश देखिएको थियो । ह्याकर समूहले पैसा नतिरे डाटा सार्वजनिक गर्ने चेतावनी दिएको जनाएको छ ।
अमेरिकाका मिसिसिपी स्टेट विश्वविद्यालयसहित पेन स्टेट, इडाहो स्टेट र क्यालिफोर्निया विश्वविद्यालयका परीक्षा तथा असाइनमेन्ट प्रभावित भएका छन् । अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयले विद्यार्थीलाई क्यानभासमा लगइन नगर्न निर्देशन दिएको छ ।
क्यानभास सञ्चालन गर्ने कम्पनी ‘इन्स्ट्रक्चर’ले अधिकांश सेवा पुनः सञ्चालनमा आएको जनाएको भए पनि केही संस्थामा समस्या अझै कायम रहेको बताइएको छ । घटनापछि अमेरिकामा साइबर सुरक्षा मजबुत बनाउन माग बढेको छ ।







