वीरगंज , २७ बैशाख –
पर्साको पर्सागढी नगरपालिका–९ एकटाङ्गा स्थित तिलाबे पुल निर्माण पुनः सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडा र निर्माण कम्पनीबीच समन्वय भएपछि रोकिएको काम अघि बढाइएको हो ।
निर्माण कम्पनीका अनुसार डिजाइन स्वीकृतिमा ४ वर्षभन्दा बढी ढिलाइ र भुक्तानी प्रक्रियामा करिब ३ वर्ष ढिलाइ हुँदा निर्माण प्रभावित भएको थियो । यसले श्रमिक परिचालन र सामग्री व्यवस्थापनमा समस्या देखिएको जनाइएको छ ।
हालसम्म पुलको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी काम आगामी असार २०८३ भित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।
स्थानीयवासीले पुल छिटो सम्पन्न गर्न माग गर्दै आएका छन् । पुल बनेपछि आवागमन, कृषि ढुवानी र आपतकालीन सेवामा सहजता हुने अपेक्षा गरिएको छ ।







