वीरगंज, २७ वैशाख ।
पर्सा प्रहरीले चलाएको ‘लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान’ अन्तर्गत आठजनालाई लागूऔषधसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित शङ्कराचार्य गेटमा रहेको चेकप्वाइन्टबाट भारतबाट नेपाल पैदल तथा सवारी साधनमा आउँदै गरेका आठजनालाई विभिन्न प्रकारका लागुऔषधसहित रङ्गेहात पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा २७ वर्षीय विकास कुमार साह, २३ वर्षीय कबिन पराजुली, २० वर्षीय सागर घिमिरे, २३ वर्षीया पुजा जिम्बा, २९ वर्षीय अञ्जन थापा, १९ वर्षीय रमेश बम्जन, ३७ वर्षीय राजु बानियाँ र ५२ वर्षीय अलिहदन मियाँँ रहेका छन।
प्रहरीले उनीहरूको शरीर र सवारी साधन खानतलासी गर्दा खैरो हिरोइन जस्तो देखिने पदार्थ, सेतो हिरोइन र प्रतिबन्धित ट्याब्लेटहरू बरामद गरेको छ। प्रहरीका अनुसार विकास कुमार साह र कबिन पराजुलीको साथबाट ६००–६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे र पुजा जिम्बाको साथबाट ५ ग्राम खैरो हिरोइन र ०.२५ मिलिग्राम सेतो हिरोइन फेला परेको छ।
त्यसैगरी, अञ्जन थापा र रमेश बम्जनको साथबाट ३ ग्राम ३७ मिलिग्राम खैरो हिरोइन तथा राजु बानियाँ र अलिहदन मियाँँको साथबाट ५३–५३ पिस प्रतिबन्धित ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यस कारबाहीका क्रममा लागुऔषध ओसारपसारमा प्रयोग गरिएको म.प्र.०३–०२८ प ७६५६ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबै व्यक्तिहरूलाई लागुऔषध नियन्त्रण ऐन सम्बन्धी कसूरमा थप अनुसन्धान गर्न पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार सीमा क्षेत्रमा हुने अवैध लागुऔषध कारोबार नियन्त्रण गर्न प्रहरीले निगरानी र सक्रियतालाई अझ तीव्र पारेको छ।







