पोखरिया अस्पतालमा सेवा ठप्प, बिरामी निजी क्लिनिक धाउन बाध्य

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २८ वैशाख –

पर्साको पोखरिया प्रादेशिक अस्पतालमा उपचार सेवा प्रभावित बनेपछि बिरामीहरू निजी अस्पताल र क्लिनिक धाउन बाध्य भएका छन् । अस्पतालका एक्स–रे र प्याथोलोजी उपकरण बिग्रिएर लामो समयदेखि बन्द हुँदा सर्वसाधारणले सास्ती खेपिरहेका हुन् ।

अस्पतालमा एक्स–रे सेवा तीन महिनादेखि र ल्याब सेवा दुई महिनादेखि सञ्चालनमा छैन । दैनिक उपचारका लागि आउने बिरामीले महँगो शुल्क तिरेर बाहिरबाट परीक्षण गराउनुपरेको गुनासो गरेका छन् ।

पोखरिया अस्पतालमा पर्साका विभिन्न पालिकासहित सीमावर्ती क्षेत्रका नागरिक उपचारका लागि आउने गर्छन् । तर उपकरण बिग्रिएपछि स्वास्थ्य सेवा नै प्रभावित बनेको स्थानीयको भनाइ छ ।

अस्पताल प्रशासनले आर्थिक अभावका कारण उपकरण मर्मत गर्न नसकिएको जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारका अनुसार मर्मतका लागि आवश्यक बजेट माग गरिए पनि हालसम्म रकम प्राप्त भएको छैन ।

स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी नआउँदा औषधि खरिदमा समेत समस्या भएको अस्पतालले जनाएको छ । स्थानीयवासीले अस्पतालको बिग्रँदो अवस्था सुधार गर्न प्रदेश सरकारसँग तत्काल पहल गर्न माग गरेका छन् ।

सम्बन्धित पोस्टहरुः