वीरगंज , २८ वैशाख –
सरसफाइ दिवसको अवसरमा वीरगञ्ज महानगरपालिका र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सहकार्यमा मितेरी पुलदेखि रजत जयन्ती चोकसम्म सरसफाइ तथा हरियाली प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमअन्तर्गत शंकराचार्य प्रवेशद्वार आसपास क्षेत्र सरसफाइ गर्नुका साथै बिरुवामा पानी हाल्ने र संरक्षण कार्य गरिएको हो ।
मितेरी पुल क्षेत्रको दायाँ–बायाँ करिब १४ हजार स्क्वायर फिट क्षेत्रमा रहेको प्राकृतिक घाँस, करिब ३ सय पाम तथा फोक्स्टेल बिरुवा र सयभन्दा बढी फूलका गमलाको संरक्षण गरिएको जनाइएको छ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले शहरको सौन्दर्यकरणलाई थप प्रभावकारी बनाउन राष्ट्रिय झण्डासहितको विद्युतीय बोर्ड जडान गर्ने तयारी भइरहेको बताए ।
त्यसैगरी ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगञ्जलाई हराभरा र व्यवस्थित शहर बनाउने उद्देश्यसहित वृक्षारोपण तथा सरसफाइ अभियानलाई निरन्तरता दिइने बताए ।







