वीरगंज , २८ वैशाख –
पूर्व सञ्चारमन्त्री जगदीश खरेलले स्मार्ट टेलिकम प्रकरणमा आफूलाई मुछिएकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले उक्त कम्पनीसँग कुनै पनि बैठक नबसेको दाबी गरे ।
आकस्मिक समयमा बोल्दै उनले आफू हालै स्वीट्जरल्याण्डबाट फर्किएको जानकारी दिए । सभामुख र सम्बन्धित पक्षलाई जानकारी दिएरै कार्यक्रमका लागि विदेश गएको उनले स्पष्ट पारे ।
खरेलले एक दैनिक पत्रिकाले आफूलाई ‘भागेको’ भनेर लेखेकोमा गम्भीर आपत्ति जनाउँदै त्यसले आफ्नो मान–सम्मानमा ठेस पुर्याएको बताए । स्मार्ट टेलिकमसँग जोडेर लगाइएका आरोप निराधार र भ्रामक रहेको उनको भनाइ थियो ।
उनले स्मार्ट टेलिकम सम्बन्धी कुनै पनि फाइल अघि नबढाएको र कुनै बैठकमा सहभागी नभएको प्रमाणित भए राजनीतिक जीवनबाटै अलग हुने घोषणा गरे । साथै गलत समाचार लेख्ने सञ्चार माध्यमप्रति कडा आपत्ति जनाउँदै त्यसको जवाफदेहिता खोजिने चेतावनी पनि दिए ।







