वीरगंज , २८ वैशाख –
पर्साको पकाहा मैनपुर गाउँपालिका–१ धोरेस्थित कलश मिल्क इन्डस्ट्रिज प्रा.लि. मा अनुगमन टोलीले छापा मार्दै विभिन्न मापदण्ड उल्लंघन भएको पाएको छ । उपभोक्ताबाट प्राप्त उजुरीका आधारमा गरिएको अनुगमनमा स्वच्छता र गुणस्तरसम्बन्धी कमजोरी देखिएको हो ।
उक्त उद्योगमा दूध, आइसक्रिम, घ्यू, खोवा र पनिर उत्पादन हुँदै आएको छ । अनुगमनका क्रममा परिसरमा सरसफाइको अभाव, मेशिन जिर्ण अवस्थामा रहेको तथा आवश्यक कागजात अद्यावधिक नभएको पाइएको टोलीले जनाएको छ ।
टोलीले दुग्ध तथा दूध पदार्थ उत्पादनको स्वच्छता एवं गुणस्तर निर्देशिका–२०७५ अनुसार मापदण्ड पूरा नगरेको निष्कर्ष निकाल्दै तत्काल सुधार गर्न निर्देशन दिएको छ । साथै जरिवाना समेत गरिएको जनाइएको छ ।
उद्योगलाई २४ घण्टाभित्र स्पष्टीकरणसहित आवश्यक कागजात पेश गर्न निर्देशन दिइएको छ । अन्यथा खाद्य ऐनअनुसार कडा कारबाही हुने चेतावनी दिइएको छ ।
अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, स्थानीय वडा कार्यालय तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
टोलीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित खाद्य उद्योगमा निरन्तर अनुगमन गरिने जनाएको छ ।







