पर्सा, २८ वैशाख –
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष परीक्षामा सहभागी कुल ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये २ लाख ८४ हजार १६० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार कुल सहभागीमध्ये ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । यस्तै १ लाख ४६ हजार ५०७ विद्यार्थीको नतिजा एनजी (नन ग्रेडेड) आएको छ ।
ग्रेड विश्लेषणअनुसार सबैभन्दा धेरै ९४ हजार २२२ विद्यार्थीले जीपीए २.८० देखि ३.२० सम्म ल्याएका छन् । त्यस्तै ४८ हजार ३९२ विद्यार्थीले ३.६० देखि ४.०० जीपीए प्राप्त गरेका छन् ।
शिक्षा क्षेत्रका सरोकारवालाले यस वर्षको नतिजालाई समग्रमा सन्तोषजनक मानेका छन् । एनजी आएका विद्यार्थीलाई पूरक परीक्षामार्फत सुधारको अवसर दिइने जनाइएको छ ।







